बाढीबाट क्षतिग्रस्त २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा खोज तथा उद्धारका क्रममा सात जनाको शव फेला परेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार, भदौ १० गते आएको बाढीपछि आयोजना क्षेत्रमा हराइरहेका व्यक्तिहरूको खोजी गर्ने क्रममा शुक्रबार सात जनाको शव फेला परेको हो।
उद्धारका क्रममा नेपाली सेना तथा आयोजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्भे इन्जिनियरसहितको टोलीले अडिट–१ क्षेत्रमा निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा उक्त क्षेत्र पूर्ण रूपमा बाढीले ल्याएको डेब्रिज तथा माटोले भरिएको पाइएको उद्धार टोलीले जनाएको छ।
त्यसैगरी, मैलुङ क्याम्प साइटमा मिनी स्काभेटरको प्रयोग गरी उत्खनन कार्य सुरु गरिएको छ। अडिट–३ क्षेत्रमा भने नेपाली सेना र अष्ट्रेलियाली उद्धार टोलीले संयुक्त रूपमा खोजी कार्य सञ्चालन गरेका छन्। कम्पनीका अनुसार अबदेखि हराइरहेका व्यक्तिहरूको खोजी कार्यलाई थप तीव्र बनाइनेछ।
बाढी आउनुअघि माथिल्लो त्रिशूली–१ आयोजनास्थलमा १,४३३ जना कर्मचारी तथा कामदार कार्यरत थिए। तीमध्ये हालसम्म ८७८ जनाको उद्धार भइसकेको जनाइएको छ। अझै केही व्यक्ति सम्पर्कविहीन रहेकाले सुरुङ, हेडवक्स तथा अन्य प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ।


प्रतिक्रिया दिनुहोस्