लगातारको वर्षासँगै पहिरो: काठमाडौँ जोड्ने प्रमुख राजमार्ग अवरुद्ध

Sagarmatha Post
Sagarmatha Post ९ आश्विन २०८३, शुक्रबार
2 Min Read
Aa

लगातार भइरहेको वर्षाका कारण पहिरो खस्दा काठमाडौँसँग जोडिने प्रमुख राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ। पृथ्वी राजमार्ग, कान्तिलोकपथ तथा बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमनमा समस्या उत्पन्न भएको हो।धादिङको कृष्णभिरलगायत जिल्लाका सातभन्दा बढी स्थानमा ढुंगा र माटोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काले बताएका छन्। बिहीबार साँझदेखि नै राजमार्गमा सवारी आवागमन रोकिएको थियो।

शुक्रबार बिहान ५ बजेदेखि सडक सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउने काम प्रभावित भएको प्रहरीले जनाएको छ। सडकमा खसेको पहिरो हटाउने प्रयास जारी रहे पनि प्रतिकूल मौसमका कारण काममा कठिनाइ भएको एसपी खड्काले जानकारी दिएका छन्।सअघि भदौ १४ गते त्रिशूली नदीको कटानका कारण कृष्णभिर क्षेत्रमा सडकको केही भाग भासिएको थियो। करिब दुई साताको प्रयासपछि डाइभर्सन निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएको थियो। तर, अहिले सोही डाइभर्सनसहित राजमार्गका अन्य स्थानमा समेत पुनः पहिरो खसेको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग हुँदै सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमनमा पूर्ण रूपमा रोक लगाएको छ। लगातारको वर्षाका कारण थप जोखिम हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।मौसम विज्ञान विभागले आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि सम्भावित दुर्घटना तथा जोखिम न्यूनीकरणका लागि राजमार्ग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले बताएकी छन्।

प्रशासनले सर्वसाधारण तथा यात्रुहरूलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन र पहिरो तथा अन्य प्राकृतिक जोखिम भएका क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्