सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस

Sagarmatha Post
Sagarmatha Post १५ आश्विन २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ । सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १६ गतेदेखि अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको जानकारी दिनुभयो।

संविधानअनुसार सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ। सङ्घीय संसद्को चालु अधिवेशन वैशाख २८ गतेदेखि सुरु भएको थियो। अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो। यस्तै, अध्यादेश प्रतिस्थापनका छ वटा विधेयक पारित गरी प्रमाणीकरण भएका छन्। वैकल्पिक वित्त परिचालन विधेयक, नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयक तथा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पनि पारित गरी प्रमाणीकरण भएका छन्।

प्रतिनिधि सभामा दस वटाभन्दा बढी विधेयक विभिन्न चरणमा समितिहरूमा विचाराधीन छन्। यसै अधिवेशनमा प्रतिनिधि सभाले जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न विशेष समिति गठन गरेको थियो। अधिवेशनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले एक पटक आकस्मिक प्रश्नोत्तर कार्यक्रममा भाग लिनुभएको थियो। यस्तै, परराष्ट्रमन्त्री तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसँग प्रश्नोत्तर भएको थियो। पूर्वाधार विकासमन्त्री तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसँग पनि प्रतिनिधि सभामा प्रश्नोत्तर भएको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्