सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरीलाई महानिरीक्षक पौडेलको निर्देशन

Sagarmatha Post
Sagarmatha Post १५ आश्विन २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ ।  सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले मधेश प्रदेशका विभिन्न सीमा नाकाको निरीक्षण गर्दै सीमा अपराध, अवैध गतिविधि तथा राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन मातहतका प्रहरी कर्मचारीलाई कडाइका साथ परिचालन हुन निर्देशन दिएका छन्। बिहीबार असोज १५ गते उनले नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीसहित मातहतका गण, गुल्म, बोर्डर आउटपोस्ट तथा सुरक्षा बेसमा कार्यरत कर्मचारीलाई उच्च सतर्कता, समन्वय र जिम्मेवारीका साथ काम गर्न निर्देशन दिएका हुन्।

अनुगमनका क्रममा पौडेलले सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दा तथा सम्बन्धित सरोकारवाला निकायसँग सीमा सुरक्षा र समसामयिक अवस्थाबारे जानकारी लिएका थिए। उनले सीमा क्षेत्रमा हुने अवैध गतिविधिको निगरानी, रोकथाम तथा नियन्त्रणका लागि पूर्वयोजना बनाई परिणाममुखी ढंगले काम गर्न तथा राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए।

उनले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै स्थानीयसँग सुमधुर सम्बन्ध कायम गर्न र सीमा वारपार गर्ने सर्वसाधारणलाई अनावश्यक असहजता नहुने गरी सुरक्षा व्यवस्था मिलाउन पनि आग्रह गरे। साथै, वर्षायाममा हुनसक्ने बाढी, डुबानलगायत विपद्का घटनामा तत्काल उद्धार तथा राहतका लागि तालिमप्राप्त जनशक्ति आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा राख्न निर्देशन दिए।

यसै क्रममा महानिरीक्षक पौडेलले धनुषास्थित जटही सीमा नाकाको समेत निरीक्षण गरेका थिए। उनले स्थानीय बासिन्दासँग भेटघाट गरी सीमा सुरक्षा, शान्ति–सुरक्षा तथा त्यहाँको समग्र अवस्थाबारे जानकारी लिएका थिए।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्