काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको मतदानको मतगणना सम्पन्न भएसँगै थापा सभापतिमा निर्वाचित हुनुभएको हो।
महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमका अनुसार काठमाडौँस्थित राष्ट्रिय सभागृहमा शुक्रबार रातिदेखि सुरु भएको मतगणना भर्खरै सम्पन्न भएको हो। सभापतिमा निर्वाचित थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ। कुल मतमध्ये ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि रहेकामा ७ हजार ३९ जनाले मतदान गरेका थिए। सभापति पदको मतगणना सम्पन्न भए पनि अन्य पदका मतपेटिका भने पार्टीको केन्द्रीय कार्यालय सानेपामा लगिएको छ। अन्य पदको मतगणना र परिणाम सार्वजनिक गर्ने प्रक्रिया त्यसपछि अघि बढाइनेछ।


प्रतिक्रिया दिनुहोस्