विभिन्न पुराणमा कुष्माण्डा देवीले सुराले भरिएका घडा र रगतयुक्त पात्र धारण गर्ने उल्लेख गरिएको छ। दुर्गा सप्तशतीको देवी कवचमा पनि त्रिविध तापले युक्त संसारलाई आफ्नो उदरमा धारण गर्ने भगवतीका रूपमा कुष्माण्डाको व्याख्या गरिएको छ। नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार वैदिक विधिअनुसार घटस्थापना गरी जौको जमरा राखिएको थियो। सोही दिन नवदुर्गाकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको थियो। नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको आराधना गरिँदै छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने परम्परा छ। देवीको श्रद्धापूर्वक पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्। नौ दिनसम्म पूजा गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउने गर्छन्।
शास्त्रीय विधिअनुसार नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। यी नौ देवीका स्वरूपलाई नवदुर्गा भनिन्छ।नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गरेको छ। काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी र इन्द्रायणी मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ।
त्यसैगरी उपत्यकाबाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी र उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनले दर्शन तथा पूजाआराधना गर्ने गरेका छन्।


प्रतिक्रिया दिनुहोस्