काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मानसिंह स्कुल नजिकै लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले २० ग्राम खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–२ घर भएका २५ वर्षीय अभय तामाङ रहेका छन्। ब्युरोको विशेष टोलीले उनको कोठामा खानतलासी गर्ने क्रममा गएराति खैरो हेरोइन फेला पारेपछि पक्राउ गरेको बताइएको छ। मनमैजु क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको गतिविधि बढ्दै गएको भन्दै स्थानीयस्तरबाट गुनासो आउन थालेपछि प्रहरीले निगरानी र कारबाही अघि बढाएको हो। सोही क्रममा गरिएको कारबाहीका क्रममा तामाङ पक्राउ परेको जानकारी प्राप्त भएको छ।
पक्राउ परेका तामाङमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। बरामद पदार्थको स्रोत, सम्भावित कारोबार तथा अन्य व्यक्तिको संलग्नताबारे भने अनुसन्धानबाट थप विवरण खुल्न बाँकी छ।


प्रतिक्रिया दिनुहोस्