काठमाडौं । सीमा सुरक्षा सुदृढीकरण, सीमापार अपराध नियन्त्रण तथा प्रविधिमैत्री सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रतिबद्धतासहित नेपाल र भारतका सशस्त्र प्रहरीबीचको १०औँ द्विपक्षीय समन्वय बैठक सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक संजय सिंघलको नेतृत्वमा काठमाडौँमा सम्पन्न बैठकमा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा सुरक्षा सूचनाको आदानप्रदानलाई थप प्रभावकारी बनाउने सहमति भएको छ ।
सीमा व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले प्रमुख नाकामा लगेज स्क्यानर तथा वाक–थ्रु मेटल डिटेक्टर जडान गर्ने विषयमा पनि छलफल भएको छ । त्यसैगरी, दशगजा क्षेत्रमा सीसीटीभी र ड्रोनमार्फत निगरानी विस्तार गर्ने विषयलाई प्राथमिकता दिइएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
बैठकमा प्राकृतिक विपद् व्यवस्थापन, संयुक्त उद्धार अभ्यास, सुरक्षा तालिम, अध्ययन भ्रमण तथा सीमा नाकामा यात्रु सहायता कक्ष विस्तार गर्नेलगायत विषयमा समेत सहमति जुटेको छ ।
सन् २०१२ देखि नेपाल र भारतमा पालैपालो आयोजना हुँदै आएको द्विपक्षीय समन्वय बैठकको ११औँ संस्करण आगामी वर्ष भारतमा आयोजना गरिने जनाइएको छ ।
reportersnepal


प्रतिक्रिया दिनुहोस्