कर्मचारीको सरुवा तथा बढुवा कार्यसम्पादनका आधारमा गर्ने प्रतिबद्धता : आईजीपी डा. मनोजकुमार केसी

Sagarmatha Post
Sagarmatha Post १९ कार्तिक २०८३, बिहीबार
2 Min Read
Aa

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले प्रहरी संगठनभित्र कुनै पनि प्रकारको प्रतिशोधपूर्ण व्यवहार नगर्ने र कर्मचारीको सरुवा तथा बढुवा कार्यसम्पादनका आधारमा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आईजीपीको दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी प्रधान कार्यालय पुगेर मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले संगठनभित्र व्यक्तिगत विषयलाई जोडेर पूर्वाग्रहपूर्ण व्यवहार नगर्ने स्पष्ट पारे । कुनै पनि प्रहरी कर्मचारीमाथि प्रतिशोध साँध्ने वा पूर्वाग्रह राख्ने काम नहुने उनको भनाइ थियो ।

केसीले प्रहरी संगठनका संवेदनशील सूचना चुहावटप्रति शून्य सहनशीलताको नीति अपनाइने पनि बताए । मुलुकको संवेदनशील सुरक्षा अवस्था, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको बढ्दो प्रभाव र प्राविधिक जोखिमलाई मध्यनजर गर्दै संगठनका आन्तरिक रणनीति तथा गोप्य सूचनाको सुरक्षा गर्न उनले निर्देशन दिए ।

विधिको शासन कायम गराउने जिम्मेवारी पूरा गर्दा प्रहरी कर्मचारी कुनै पनि प्रलोभन, प्रभाव वा दबाबमा पर्न नहुने उनको भनाइ थियो । नागरिकको हकहित र कानुनी राज्यको सुनिश्चितताका लागि उच्च नैतिक चरित्र र व्यावसायिक इमानदारी प्रदर्शन गर्नुपर्नेमा उनले जोड दिए ।

प्रहरी संगठनमा सरुवा तथा बढुवाको प्रणालीलाई व्यवस्थित र निष्पक्ष बनाउने प्रतिबद्धता जनाउँदै केसीले कर्मचारीको योग्यता, क्षमता र कार्यसम्पादनका आधारमा अवसर प्रदान गरिने बताए ।

उनले प्रहरी संगठनको प्रतिष्ठा, व्यावसायिकता र नागरिकको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे । विषम परिस्थितिमा नेपाल सरकार र आम नागरिकको अपेक्षाअनुसार संगठनका कामकारबाही अघि बढाउन सबै प्रहरी कर्मचारी एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

बदलिँदो सामाजिक परिवेश र विकसित सुरक्षा चुनौतीलाई सम्बोधन गर्न नेपाल प्रहरीलाई अझ सक्षम, व्यावसायिक, प्रविधिमैत्री तथा नागरिकप्रति उत्तरदायी संगठनका रूपमा विकास गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको उनले बताए ।

केसीले संगठनभित्र अनुशासन, गोपनीयता, व्यावसायिक इमानदारी र जवाफदेहितालाई प्रभावकारी बनाउँदै नागरिकको विश्वास जित्ने गरी काम गर्न प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिएका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्