साझा बस आउने भएपछि आज देखि अचानक तिनपिप्लेमा तारकेश्वर यातायात चल्यो,१२ बर्ष देखि नचलेको सार्वजनीक बस अचानक चल्नु सेवा कि रणनीति ?

Sagarmatha Post
Sagarmatha Post २० कार्तिक २०८३, शुक्रबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाडौँ । करिब १२ वर्षदेखि नियमित सार्वजनिक यातायात सेवाबाट वञ्चित हुँदै आएका तारकेश्वर नगरपालिका–३ तिनपिप्ले क्षेत्रका बासिन्दाले लामो समयपछि आजदेखि बस सेवा पाएका छन्। तर, स्थानीयको यातायात समस्या समाधान गर्ने उद्देश्यले नभई साझा यातायात सञ्चालन हुने भएपछि त्यसलाई रोक्ने रणनीतिअनुसार तारकेश्वर यातायात प्रालिले हतारहतार बस चलाएको भन्दै स्थानीयले आशंका व्यक्त गरेका छन्।

साझा यातायातको प्रवेश रोक्न तारकेश्वर यातायातले हतारहतार बस चलाएको स्थानीयको आरोप, विगतमा सेवा बन्द गरेर यात्रुलाई अलपत्र पारेको भन्दै व्यवसायीप्रति अविश्वास

मंसिर महिनादेखि साझा यातायातले तारकेश्वर क्षेत्रमा सेवा सञ्चालन गर्ने तयारी गरिरहेका बेला तारकेश्वर यातायात प्रालिले एकाएक आजदेखि तिनपिप्ले रुटमा बस सञ्चालन गरेको हो। कम्पनीका अध्यक्ष श्रीकृष्ण नगरकोटीले हिजो सार्वजनिक सूचना जारी गर्दै आजदेखि बस सेवा सञ्चालन हुने जानकारी दिएका थिए।

विगतमा पटक–पटक सार्वजनिक यातायातको आश्वासन पाए पनि नियमित सेवा नपाएका स्थानीयले तारकेश्वर यातायातको पछिल्लो कदमलाई सहज रूपमा विश्वास गर्न सकेका छैनन्। एक वर्षअघि पनि उक्त कम्पनीले केही समय यस क्षेत्रमा बस सञ्चालन गरेको थियो। तर, यात्रु कम भएको कारण देखाउँदै सेवा बन्द गरेपछि स्थानीय पुनः सार्वजनिक यातायातको पहुँचबाट टाढिन बाध्य भएका थिए।

सार्वजनिक यातायात नहुँदा तिनपिप्ले क्षेत्रका बासिन्दाले दैनिक जीवनमै ठूलो सास्ती भोग्नुपरेको थियो। दिनभरि पाँच सय रुपैयाँ कमाउने सर्वसाधारणले आवतजावतका लागि सात सय रुपैयाँसम्म खर्च गरेर ट्याक्सी चढ्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। कतिपयले यातायातको अभावमा ऋण गरेर मोटरसाइकल किनेका छन् भने कतिपयले फोहोर संकलन गर्ने गाडीमा समेत यात्रा गर्नुपर्ने अवस्था भोगेको उनीहरूको भनाइ छ। यसले स्वास्थ्य र सुरक्षासम्बन्धी जोखिमसमेत बढाएको स्थानीयको गुनासो छ।

तिनपिप्ले क्षेत्रका स्थानीय युवा रोशन फुयाँलले लामो समयपछि सार्वजनिक यातायात सञ्चालन हुने खबरले आफूहरू खुसी भएको बताए। तर, यातायात सेवा नियमित नहुँदा स्थानीयले वर्षौंदेखि भोग्नुपरेको पीडा सामान्य नभएको उनको भनाइ छ।

नगरपालिकाले साझा यातायातसँग सेवा सञ्चालनका लागि सम्झौता गरेको समाचार सार्वजनिक भएपछि मात्रै तारकेश्वर यातायातले बस चलाउन चासो देखाएको स्थानीयको आरोप छ। विगतमा स्थानीयको समस्यालाई बेवास्ता गर्ने यातायात व्यवसायीले साझा यातायात आउने भएपछि मात्रै सेवा सुरु गर्नु संयोग मात्र नभएको उनीहरूको टिप्पणी छ।

तारकेश्वर यातायातले हाल तिनपिप्ले, आठमाइल, डाँडागाउँ, ओशो तपोवन, मुड्खु, बाइपास, माछापोखरी, बालाजु र लैनचौर हुँदै नेपाल वायुसेवा निगमसम्म बस सञ्चालन गरेको छ। तिनपिप्लेदेखि नेपाल वायुसेवा निगमसम्मको भाडा ४५ रुपैयाँ निर्धारण गरिएको छ।

यसैबीच, तारकेश्वर क्षेत्रमा नियमित सार्वजनिक यातायात सञ्चालन हुन नसकेको विषयलाई सम्बोधन गर्दै तारकेश्वर नगरपालिकाले तीन दिनअघि साझा यातायातसँग सम्झौता गरेको थियो। उक्त सम्झौताअनुसार साझा यातायातले मंसिर महिनादेखि सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

प्रस्तावित योजनाअनुसार साझा यातायातका बसहरू सुन्धारादेखि महाराजगञ्ज, नयाँ बसपार्क, मुड्खु, तिनपिप्ले चोक, चिसापानी, सानो बाइपास, धर्मस्थली, जरङ्खु, नेपालटार हुँदै बालाजु बाइपाससम्म सञ्चालन हुनेछन्। सोही मार्ग हुँदै बसहरू पुनः फर्किने व्यवस्था मिलाइने जनाइएको छ।

काठमाडौँ महानगरको छेउमै रहेको क्षेत्र भए पनि वर्षौंदेखि नियमित सार्वजनिक यातायात नपाउनु तिनपिप्ले र आसपासका बासिन्दाका लागि विडम्बना बन्दै आएको छ। स्थानीयको आधारभूत आवश्यकताका रूपमा रहेको सार्वजनिक यातायातलाई सेवा प्रवाहभन्दा नाफा–घाटाको हिसाबले मात्र हेर्दा सर्वसाधारण यातायात सुविधाबाट वञ्चित हुनुपरेको स्थानीयको गुनासो छ।

स्थानीय युवा सरोज लामाले विगतमा दुःखको समयमा सेवा नदिएको यातायात कम्पनीको बसभन्दा साझा यातायातलाई प्राथमिकता दिनुपर्ने बताए। साझा यातायातको भाडा तुलनात्मक रूपमा सस्तो हुने भएकाले स्थानीयले साझा बस चढेर त्यसको सेवा निरन्तरताका लागि सहयोग गर्नुपर्ने उनको धारणा छ।

लामाका अनुसार स्थानीयलाई साँच्चिकै माया र सेवा गर्ने भावना भएको भए गत वर्ष सञ्चालनमा आएको बस सेवा केही समयमै बन्द हुने थिएन। साझा यातायात आउने भएपछि मात्र बस सञ्चालन गर्नुले तारकेश्वर यातायातको उद्देश्यप्रति प्रश्न उठेको उनले बताए।

स्थानीयले तारकेश्वर यातायातको पछिल्लो कदमलाई साझा यातायातको प्रवेश रोक्ने सम्भावित रणनीतिका रूपमा व्याख्या गरेका छन्। यद्यपि, कम्पनीले सेवा सञ्चालन गर्नुको उद्देश्यबारे आफ्नो धारणा सार्वजनिक गरेको छैन।

स्थानीयको मुख्य चिन्ता अहिले बस चल्यो कि चलेन भन्ने मात्र होइन, सेवा कति दिन टिक्छ भन्ने हो। विगतमा केही समय प्रचारप्रसारसहित बस सञ्चालन गरेर पुनः बन्द भएको अनुभवका कारण यसपटक पनि सेवा निरन्तर हुनेमा उनीहरू विश्वस्त हुन सकेका छैनन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्