काठमाडौँ । नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेवार समुदायले नेपाल संवत्लाई नयाँ वर्षका रूपमा मनाउनुका साथै आजै म्हः (आत्म) पूजा पनि गर्दैछन्।नेपाल संवत् नेवार समुदायको मौलिक नयाँ वर्ष हो। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (सन् ८८०) मा गरिब जनताको ऋणमोचन गराई नेपाल संवत् सुरु गराएको ऐतिहासिक मान्यता छ। पृथ्वीनारायण शाहको शासनकालसम्म यसले राष्ट्रिय संवत्को मान्यता पाएको थियो।
लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् मानिन्छ। इतिहासअनुसार लिच्छविकालभन्दा अघि शक संवत् प्रचलनमा थियो। नेपालको नामबाट नामकरण गरिएको यस संवत्लाई राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै विभिन्न अभियान सञ्चालन हुँदै आएका छन्।नेपाल संवत्को नयाँ वर्ष काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका क्षेत्रमा विशेष उत्साहका साथ मनाउने गरिन्छ।
गरिब जनताको ऋणमोचन गराएर सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्नुका साथै मौलिक संवत् सञ्चालनमा योगदान पुर्याएको मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५६ मा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो। त्यसैगरी, विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो। काठमाडौँमा कार्तिक कृष्ण औँसीका दिन पुरानो बहीखाता बन्द गर्ने र नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरु गर्ने परम्परा पनि रहँदै आएको छ।
म्हः (आत्म) पूजा
नेपाल संवत्को नयाँ वर्षको अवसरमा नेवार समुदायले आज म्हः अर्थात् आत्म पूजा पनि गर्दैछन्। मानिसको आत्मा सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आफ्नै आत्माको पूजा गर्ने परम्परा रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउनुहुन्छ।
उहाँका अनुसार आत्मालाई सन्तुष्ट र प्रसन्न राख्न सके देवीदेवतासमेत प्रसन्न भई आशीर्वाद दिने र मानव जीवन सार्थक हुने धार्मिक विश्वास छ।
यस वर्ष प्रतिपदा तिथि सोमबार र मंगलबार गरी दुई दिन परेकाले नेपाल संवत्को नयाँ वर्ष र म्हः पूजा मनाउने दिनमा केही स्थानमा भिन्नता देखिएको छ। कतिपय स्थानमा सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ भने नेवार समुदायका केही समूहले आज म्हः पूजा गर्दैछन्।


प्रतिक्रिया दिनुहोस्