आज कार्तिक शुक्ल प्रतिपदा : गोवर्द्धन, बली, गोरुको पूजा गरी गोवर्द्धन पूजा मनाइँदै

Sagarmatha Post
Sagarmatha Post २४ कार्तिक २०८३, मंगलवार
2 Min Read
Aa

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन, बली, गोरु तथा हलिको पूजा गरी गोवर्द्धन पूजा मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिनका रूपमा रहेको आजको दिन विभिन्न मीठा परिकार तयार गरी पूजा गरिएका गोरु तथा हलिलाई खुवाउने परम्परा छ।गोवर्द्धन पूजाका अवसरमा घरको आँगन लिपपोत गरी गाईको गोबरबाट पर्वतको आकृति बनाइन्छ। त्यसलाई गोवर्द्धन पर्वतका रूपमा स्थापना गरी विधिपूर्वक पूजा गर्ने चलन छ।

द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्द्धन पर्वत उचालेर मुसलधारे वर्षाबाट जोगाउनुभएको स्मरणमा गोवर्द्धन पूजा गर्ने परम्परा सुरु भएको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताउनुभयो।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवर्द्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको छ।

बली, हलि र गोरु पूजा

धार्मिक विश्वासअनुसार भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिनुभएको थियो। यही मान्यताअनुसार आज बली राजाको पनि पूजा आराधना गर्ने परम्परा छ। यसै विश्वासका आधारमा तिहारमा देउसी खेल्ने क्रममा ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने चलन बसेको धार्मिक मान्यता छ।

वर्षभरि खेतबारी जोतेर कृषि कार्यमा सहयोग पुर्‍याउने गोरुको सम्मानमा आज विशेष पूजा गरिन्छ। गोरुलाई विभिन्न परिकार खुवाएर सम्मान गर्ने चलन छ। गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेका रूपमा समेत पूजा गर्ने परम्परा रहेको छ।

त्यसैगरी, वर्षभरि गोरु जोतेर खेतीपाती गर्ने हलि तथा कृषि कर्ममा संलग्न किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाउने गरिन्छ। कृषि कार्यमा उनीहरूले पुर्‍याएको योगदानको सम्मानस्वरूप मनाइने भएकाले आजको दिनलाई हलि तिहारसमेत भन्ने गरिन्छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्