राष्ट्रियसभा सदस्यका लागि निर्वाचन सातै प्रदेशमा सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ माघ २०८०, बिहीबार
3 Min Read
Aa

काठमाडौँ, रिक्त रहेको राष्ट्रियसभा सदस्यका लागि निर्वाचनमा सातै प्रदेशमा सुरु भएको छ । बिहानैदेखि सुरु भएको निर्वाचन आज नै सम्पन्न भएर आज नै मतपरिणाम समेत आउन सक्ने निर्वाचन आयोगले जनाएको छ । यता बिहानैदेखि सुरु भएको मतदानमा लुम्बिनी प्रदेशमा  दुई सिटका लागि हालसम्म ४१ प्रतिशत मत खसेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा मतदान सुरु भएको छ । दुई स्थानका लागि भएको निर्वाचनमा बिहान ९ बजेबाट मतदान सुरु भएको हो । फागुन २१ गतेबाट रिक्त हुने दुई जना राष्ट्रिय सभा सदस्य पदका लागि जारी निर्वाचनमा गठबन्धन दलको तर्फबाट दुई र नेकपा एमालेबाट दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी पार्टीबाट एक जना उम्मेदवार हुनुहुन्छ । नेकपा एमालेबाट खुला तर्फ उम्मेदवारी दिनुभएका उम्मेदवार परशुराम अधिकारीले राष्ट्रिय प्रजातन्त्र  पार्टीका उम्मेदवार उद्धव पौडेललाई समर्थन गर्नुभएका कारण निर्वाचन केन्द्रमा चार जना उम्मेदवार उपस्थित हुनुभएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेश सभाका ९३ जना सदस्य, १३७ स्थानीय तहका प्रमुख तथा उपप्रमुखसमेत ३६७ जना मतदाता हुनुहुन्छ । राष्ट्रिय सभा सदस्यको रिक्त पदमध्ये बागमती प्रदेशबाट निर्वाचित हुने चार जनाका लागि मतदान सुरु भएको छ ।हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालय परिसरमा रहेको मतदान स्थलका दुई वटा मतदान केन्द्रमा मतदाताहरूले मतदान गर्न सुरु गरेका हुन् ।राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालय बागमती प्रदेशले एउटा मतदान केन्द्रमा मतदान अधिकृतसहित १० जना कर्मचारी रहने गरी मतदान केन्द्रमा व्यवस्था गरिएको जनाएको छ । निर्वाचनका मतदाता रहेका प्रदेश सभा सदस्य र प्रदेशभित्रका स्थानीय तहका नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि मतदान गर्न छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । मतदाताहरूले मतदान केन्द्रमा लामबद्ध भएर उत्साहजनक रूपमा मतदान गर्न सुरु गरेका छन् ।

राष्ट्रियसभा सदस्य चयनका लागि लुम्बिनी प्रदेशको घोराहीमा मतदान सुरु भएको छ ।घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा रहेको मतदान केन्द्रमा पुगेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मतदान गरेसँगै सुरु भएको  निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभएको छ । उहाँका अनुसार मुख्यमन्त्री चौधरीले मतदान केन्द्र (क)मा  मतदान गर्नुभएको हो । मतदानका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि छुट्टाछुट्टै मतदान केन्द्र बनाइएको छ ।

लुम्बिनी प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि निर्वाचन हुन थालेको छ । उहाँका अनुसार मतदानमा सहजताका लागि मतदान स्थलमा दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । मतदान केन्द्र (क) मा प्रदेश सभा सदस्य र मतदान केन्द्र (ख) मा स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ । उहाँका अनुसार मतदानका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ । बागमती प्रदेशमा निर्वाचनका लागि मतदान हुँदै ।

gorkhapatraonline

प्रतिक्रिया दिनुहोस्

Array