काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथि लगाइएको निलम्बनसहितका प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाउने निर्णय गरेको छ। राखेपको कार्यकारी समितिको आज बसेको बैठकले एन्फामाथि लगाइएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। निर्णयसँगै एन्फाले भोग्दै आएको प्रशासनिक तथा आर्थिक रोकावटसमेत हटेको परिषद्ले जनाएको छ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फालाई पत्र पठाउँदै प्रतिबन्ध फुकुवाको औपचारिक जानकारी गराउनुभएको छ। एन्फाले गत अप्रिल ५ मा प्रतिबन्ध हटाउन अनुरोध गर्दै पठाएको पत्र तथा राखेपले यसअघि विभिन्न समयमा गरेको पत्राचारलाई आधार मानेर निलम्बन र प्रतिबन्ध फुकुवा गरिएको पत्रमा उल्लेख छ।
पत्रमा राष्ट्रिय खेलकुद परिषद्को निर्णयअनुसार एन्फामाथि लगाइएका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको र यससँगै सबै प्रशासनिक तथा आर्थिक प्रतिबन्धसमेत हटाइएको जनाइएको छ। राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा (३) लाई आधार बनाएर एन्फामाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्