काठमाडौँ, ३ मङ्सिर । जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौँ र मोरङबाट १२ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्। बुधबार बिहान पक्राउ पर्नेमा धादिङ घर भई हाल कलङ्की बस्दै आएका ४० वर्षीय अर्जुन ढुङ्गानासहित आठ जना रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट नगद ६१ हजार ३१० रुपैयाँ र पाँच बुक तास बरामद गरेको छ। त्यसैगरी, मोरङको बेलबारी नगरपालिका–११ नलबारीस्थित बाँसघारीमा कौडा खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन्। बुधबार साँझ पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका–२ निवासी ५१ वर्षीय खमानसिङ लिम्बुसहित चार जना रहेका छन्।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४५ हजार ८२५ रुपैयाँ र ११ थान कौडासहित पक्राउ गरेको हो। पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्