शिक्षा /स्वास्थ्य
Dec 26, 2019
जुम्लामा जलवायु अनुकूलनसम्बन्धी शिक्षा
उपेन्द्र न्यौपाने
सिञ्जा, पुस १०
जुम्लाका दुर्गम क्षेत्रका वडाहरुमा जलवायु अनुकूलनसम्बन्धी शिक्षा शुरु गरिएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको सहयोगमा पेस नेपालले सञ्चालन गरेको परियोजना क्याप्स कर्णाली परियोजनाले गाउँगाउँमा गएर स्थानीयहरुलाई भेला गराई जलवायु अनुकूलन शिक्षा दिन थालेको हो । जुम्ला, कालिकोट र मुगुका ४६ वडामा खाद्य सुरक्षासहित जलवायु अनुकूलनको कार्यक्रम शुरु गरिएको हो । जुम्लाका १०, कालिकोटका १६ र मुगुका २० वडामा कार्यक्रम लागु गरिएको आयोजक पेस नेपालले जनाएको छ । स्थानीय गाउँपालिका र वडापालिकाको साझेदारीमा कार्यक्रम लागू गरिएका गाउँहरुमा सामाजिक परिचालक, ओभरसियर र स्थानीय जनप्रतिनिधिहरुले स्थानीयवासीहरुलाई जलवाय अनुकूलता कसरी गर्नेदेखि खाद्य सुरक्षामा कसरी ध्यान दिने विषयसम्म जोड दिँदै आएका छन् । पेस नेपालका कार्यकारी अध्यक्ष किश्वर न्यौपानेले समसामयिक विषयको जलवायुसम्बन्धी शिक्षा कार्यक्रम लागू गरिएका क्षेत्रमा उपलब्ध गराउनुका साथै सोही गाउँमा ठोस योजना सम्झौता गरिएको जानकारी दिनुभयो । जुम्लामा मात्रै आर्थिक वर्ष २०७६÷०७७ मा रु पाँच करोडको भौतिक पूर्वाधार, खाद्य सुरक्षा तथा अनुकूलन शिक्षासम्बन्धी कार्यक्रमको योजना रहेको छ । जुम्लाको तिला गाउँपालिकाको छ, हिमा गाउँपालिकाको दुई र तातोपानी गाउँपालिकाको दुई वडामा एक–एकवटा ठोस योजनासहित जलवायु अनुकूलनसम्बन्धी शिक्षा निरन्तर अगाडि बढाइएको अध्यक्ष न्यौपानले बताउनुभयो । जिल्लाको तिला गाउँपालिका–७ घोडेसिम गाउँ एक दुर्गम बस्ती हो । छयानब्बे घरधुरी भएको सो बस्तीमा अहिलेसम्मकै गाउँको ठूलो योजना सिँचाइ कुलोसहित जलवायु अनुकूलनसम्बन्धी शिक्षा कार्यक्रम बोकेर वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको सहयोगमा पेस नेपालले काम थालेको छ । भिरालो जग्गा र एकपछि अर्को गर्दै टाँसिएका घर भएका बस्तीले घोडेसिम गाउँमा आगन्तुकलाई लोभ्याउँछ । तर भिरालो जमीनमा गाउँ र खेतीयोग्य जमीन भएकाले सिँचाईको अभावमा विकासको पर्खाइमा रहेको सो गाउँ अब सिञ्चित हुने भएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले रु ४१ लाख १९ हजार ८१७ को लागतमा बन्ने ८९९ मिटर लम्बाइको सिँचाई कुलो निर्माण योजनाको सम्झौता गाउँको भेला गरी हस्तान्तरण गर्नुभएको छ । घोडेसिम गाउँमा २०७४ सालमा पेस नेपालले नै कच्ची कुलो निर्माण गरेको थियो । अहिले पक्की योजना आउँदा गाउँवासी र स्थानीय सरकार खुशी भएको वडाध्यक्ष हस्तबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “भिरालो गाउँमाथि कच्ची कुलो भएकाले पानी चुहिएर गाउँमा आउँथ्यो र पहिरोको डर थियो, अब पक्की कुलो बन्ने भएपछि समस्या समाधान हुनेछ ।” जम्मा ९६ घरधुरीमा विपन्न परिवारलाई केही आय आर्जनका लागि काम गर्न प्राथमिकता दिइएको छ । विपन्नताको सूचकाङ्कअनुसार ५४ घरधुरी (क), १३ घरधुरी (ख), ११ घरधुरी (ग) र आठ घरधुरी (घ) गरी ८६ घरधुरीले काम पाउने तिला गाउँपालिकाका सामाजिक परिचालक रिता रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजना लागू भएका गाउँमा जलवायु परिवर्तन, खाद्य सुरक्षा अनुकूलन कसरी गर्ने, कृषिमा खडेरी अनुकूलन, प्राङ्गारिक खेती, लैङ्गिक समानता विषयमा गाउँमा अभिमुखीकरण तथा शिक्षा दिइँदै आएको छ । यसैगरी योजना गुणस्तर कसरी गर्ने भन्ने विषयमा ओभरसियरनै खटाएर जनचेतना दिइरहेको बताइएको छ । आफूहरु त्यहाँ गएर भोलिको जोखिमलाई पूर्वतयारी वा गुणस्तरमा कसरी जोड दिने भन्ने विषयमा कामको शिप सिकाउन स्थानीयलाई सहयोग गरिरहेको ओभरसियर लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । सो गाउँमा जलवायु परिवर्तनको अभिमुखीकरणमा पुग्नुभएका जिल्ला समन्वय समितिका प्रमुख बुढाले जलवायु परिवर्तन अनुकूलता शिक्षा महत्वपूर्ण भएको भन्दै योजनाको सम्झौता बोकेर जनताको माझमा हस्तान्तरण गर्ने पहिलो परियोजना भएकाले कामको गुणस्तरमा जोड दिन अनुरोध गर्नुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video