कृषि/प्रविधि
Jul 26, 2017
बालीमा भाइरस ! वैज्ञानिक भन्छन् - ‘उपचार पत्ता लागेको छैन’
 काठमाडौं, साउन १० – विरुवामा लाग्ने रोगबाट बच्न किसानले धेरै मात्रामा विषादी  प्रयोग गर्न थालेपछि माटो प्रदुषित भएर उर्वराशक्ति घट्दै गएको छ । माटोको प्रदुषणले उर्वराशक्ति घट्दै गएपछि बाली विरुवामा भाइरसको संक्रमण बढेको छ । 

‘भेक्टर इन्सेक्ट’ अर्थात चुसाहा किराले विरुवाको रस चुसेर अर्को स्वस्थ विरुवालाई चुसेपछि भाइरस फैलिने नेपाल कृषि अनुसन्धान परिषद नार्कका मुख्य वैज्ञानिक सुरेन्द्रलाल श्रेष्ठ बताउनुहुन्छ । 

‘भेक्टर इन्सेक्टले भाइरस सार्ने गर्छ । यो लाइ(तोरी)को विरुवामा देखिने किरा, सेतो किरा लगायतका किराले एउटा विरुवा चुसेर स्वस्थ्य विरुवा पनि चुसेपछि भाइरस सर्छ’ उहाँले भन्नुभयो ‘हिजोआज यो बढ्दो क्रममा छ ।’ 

विरुवाको भाइरसको औषधि छैन, उखेलेर फ्याक्नुपर्छ 

भाइरस लागेको विरुवालाई उखेलेर फ्याकेपछि मात्रै यसको प्रकोप घटाउन सकिन्छ । विषादीको प्रयोगले केही घटाएपनि पूर्ण रुपमा निर्मूल पार्न भाइरस लागेको विरुवालाई उखेलेर फ्याक्नुको विकल्प नभएको वैज्ञानिक श्रेष्ठको भनाई छ । कारण अहिलेसम्म यसको औषधि पत्ता लागेको छैन ।

‘मान्छेमा लागेको भाइरसको उपचार हुन्छ । तर विरुवाको भाइरसको उपचार सम्भव छैन ।’ उहाँले भन्नुभयो ‘भाइरस लागिसकेको विरुवालाई उखेल्नुबाहेक अर्को विकल्प छैन ।’ 

सर्ने र नसर्ने भाइरस भएपनि सर्ने भाइरसको प्रकोप बढेको छ । खेतमा रोपेको धान पहेँलो हुदै सुक्न थालेपछि ललितपुरको खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद (नार्क) मा पुगेर गोदावरीकी ठुली थापामगरले सुनाउँदा वैज्ञानिक पनि अलमल्ल परे । कारण उपचार नभएको भाइरसको संक्रमण बढेपछि सबै बाली नै नष्ट हुने जोखिम बढी छ ।

अहिलेसम्म धानबालीमा के लागेको हो ? भन्ने कुराको पत्तो नपाएकी ठूली थापाले उखेलेर फ्याक्नुपर्छ भन्ने जानकारी वैज्ञानिकबाट थाहा पाए पनि कति विरुवा उखेल्ने भन्ने एकिन छैन ।

‘पहिलो दिन एउटा विरुवामा देखिएको भाइरस अर्को दिन आठ/दश वटा विरुवामा देखिन्छ’ बाली भाइरसले चिन्तित थापाले भन्नुभयो ‘सबै भाइरस लागेका विरुवा उखेल्दा बारी नै सकिन्छ की भन्ने चिन्ता लाग्छ ।’

दिनदिनै खेतबारी हेर्ने फुर्सद नहुने किसानलाई भाइरसले ठुलै क्षति गर्ने निश्चित छ । तर दिनानुदिन खेत हेर्नेले पनि भाइरसको प्रकृति बुझ्न जरुरी छ । 

बाली वैज्ञानिक श्रेष्ठका अनुसार सर्ने भाइरस बालीमा लागे त्यसले खेतबारी नै नष्ट गर्न सक्छ । यदि नसर्ने परे त्यो विरुवा तत्कालै उखेल्नुपर्छ । तर त्यसका लागि किसानले आफ्नो खेतबारीको हेरचाह भने दैनिक गरिरहनुपर्छ । 

भाइरस बिउ वा बेर्नाबाटै सुरु हुन्छ 

किराफट्याङग्राबाट जोगाउन विषादीको प्रयोग गरे पनि भाइरसबाट जोगाउन के गर्ने भन्ने थाहा नहुँदा ठूली थापा जस्ता धेरै किसान समस्यामा परेका छन् । तर धेरैजसो भाइरस, बिउबाट उत्पादन हुने साना बेर्नाबाटै शुरु हुने वैज्ञानिकको भनाई छ । 

‘धेरै भाइरस बिउ वा बेर्नाबाटै शुरु हुन्छ । यदि स्वस्थ्य बेर्ना वा बिउ लगाएमा त्यसरी आत्तिनुपर्दैन ।’ वैज्ञानिक श्रेष्ठले भन्नुभयो ।

झुलभित्र बेर्ना उमार्ने गरौँ

स्वस्थ विउबाट उत्पादन भएका बेर्ना रोपे भाइरस सर्ने सम्भावना कम हुन्छ । यसका लागि बेर्ना उत्पादन गर्ने नर्सरीमा लामखुट्टेबाट बच्न प्रयोग गर्ने झुल टाँगेर पनि भाइरसको जोखिम कम गर्न सकिने नार्कका मुख्य वैज्ञानिक श्रेष्ठको भनाई छ ।  

वैज्ञानिक श्रेष्ठका अनुसार अन्न तरकारी वा फलफुल फलाउन विउ छरेदेखि नै हेरचाह र स्याहारसुसार गर्नुपर्छ । यसका साथै बालीमा लाग्ने रोग तथा भाइरस र त्यसको जोखिमकाबारेमा पनि जानकारी पाउन आवश्यक हुन्छ ।

यसका लागि भने समयसमयमा नजिकको कृषि कार्यालयमा सम्पर्क राख्ने र कृषी प्राविधिकसंग सरसल्लाह गरे बालीनालीलाई रोगकिराको प्रकोपबाट जोगाउने तरिका त जान्न सकिन्छ नै रोगबाट हुने बाली नालीको ठूलो क्षतिलाई पनि रोक्न सकिन्छ ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video