समाज
Jun 09, 2019
युवालाई समाज सुधारको अभियानमा लाग्न आग्रह
बुटवल, जेठ २६ प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले युवालाई सकारात्मक सोचसहित समाज सुधारको अभियानमा केन्द्रित गर्न आग्रह गर्नुभएको छ । उहाँले समाजमा भ्रम सिर्जना गरेर निराशा छर्ने काम भइरहेको भन्दै त्यसलाई चिर्ने अभियानमा लाग्नसमेत युवालाई आग्रह गर्नुभयो । राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको प्रदेशस्तरीय नमूना युवा संसद्को आज बुटवलमा अवलोकन गर्दै मुख्यमन्त्री पोखरेलले भ्रम चिर्दै अगाडि बढेका युवाको सङ्कल्प र अठोटले मात्र समृद्धिको अभियान प्रभावकारी हुने बताउनुभयो । यस्तै प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश सरकारले युवामा सकारात्मक सोचको विकास, राष्ट्र««प्रतिको भावना विकास गर्ने र नेतृत्व क्षमताको विकास गर्ने खालका कार्यक्रम सञ्चालन गर्न आगामी वर्षको बजेटमा कार्यक्रम ल्याइने जानकारी गराउनुभयो । युवालाई जिज्ञासु र कामकाजी बनाउँदै समृद्धिको अभियानमा जोड्ने लक्ष्यका साथ रािष्ट्रय युवा परिषद्ले बुटवलमा ५ नं प्रदेशस्तरीय नमूना युवा संसद्को आयोजना गरेको थियो । प्रदेशका १२ वटा जिल्लाबाट जुटेका ‘युवा सांसद’ले सञ्चालन गरेको नमूना युवा संसद्लाई सङ्घीय ढाँचामा मात्रै नभई अब प्रदेश र स्थानीय तहको जस्तो अभ्यासमा पनि सरिक बनाउनुपर्नेमा जोड दिनुभयो । “युवामा अहिले हुटहुटी र जिज्ञासा देखिएको छ यसलाई समृद्धिको अभियानमा जोड्नुपर्छ”, मुख्यमन्त्रीले भन्नुभयोे, “जनतामा खुशियाली ल्याउने कामबाट नै असली समृद्धि हासिल हुने भएकाले यसमा युवाका भूमिका महत्वपूर्ण हुन्छ ।” युवा संसद्ले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्रीहरुसमेत चयन गर्दै सत्तापक्ष एवम् प्रतिपक्षको अभ्यास गरेका थिए । त्यस क्रममा युवा सांसदले शिक्षा, खेलकूद, स्वास्थ्य, रोजगारी र सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कतिपय युवा सांसदले खेलकूद विकासको सम्भावना भएको तर एउटा पनि खेलमैदान नभएको भन्दै गुनासो पोखेका थिए । प्रदेश नं ५ प्रदेशस्तरको नमूना संसद्मा कोरेको खाकालाई आउँदो असार १०–१३ मा काठमाडाँैमा बस्ने नमूना सङ्घीय युवा संसद् र सरकारमा पेश गरिने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले बताउनुभयो । युवापुस्तालाई व्यवस्थापिका–संसद्को प्रक्रिया र नीतिगत व्यवस्थाबारे जानकारी गराउने उद्देश्यले युवा तथा खेलकूद मन्त्रालय र राष्ट्रिय युवा परिषद्ले बुटवलमा ५ नं प्रदेशस्तरीय नमूना युवा संसद् सञ्चालन गरिएको र युवामा एक प्रकारको हौसला जागेको परिषद्का सदस्य तथा कार्यक्रम संयोजक लीला शर्माले जानकारी दिनुभयो । बुटवलमा पहिलोपटक प्रदेशका १२ जिल्लाका १६–२४ वर्षका ४० जना युवाको सहभागितामा नमूना युवा संसद्मार्फत संसदीय अभ्यासको कार्यक्रम गरिएको युवा परिषद्का जिल्ला अध्यक्ष वसन्त ढकालले बताउनुभयो । चार दिनसम्म अभ्यासमा सरिक भएका युवा सांसदलाई संविधान, कानून, सभ्यता, अनुशासन, मौलिक संस्कृति सिकाइएको थियो । परिषद्ले मुलुकका सातै प्रदेशमा यस्तो अभ्यास शुरु गरेको छ । देशको कानून र कानून निर्माणको भूमिकामा रहेका निकायका बारेमा समेत जान्न पाउँदा उत्सुकता जागेको युवा सांसद आकृति केसीले बताउनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video