समाज
May 10, 2019
लुम्बिनी भ्रमण वर्षले पर्यटन विकासको आधार तयार हुन्छ : मुख्यमन्त्री पोखरेल
रुपन्देही, वैशाख २७ ।  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बनी भ्रमण वर्षले पर्यटन विकासको आधार तयार हुने बताउनुभएको छ । प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको तयारी सम्बन्धमा छलफल गर्न आज बुटवलमा बसेको मूल समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले भ्रमण वर्ष अवधिमा लुम्बिनी र बुद्ध सर्किटबारे पर्यटकलाई बुझाउन सके पर्यटन प्रवद्र्धनमा फाइदा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामीले लुम्बिनीलाई केन्द्रमा राखेर गतिविधि गरिरहेका छौँ, पर्यटकलाई आकर्षण गर्न पहिलेभन्दा लुम्बिनी फरक देखिनुपर्छ ।” मुख्यमन्त्री पोखरेलले पुरातात्विक र सांस्कृतिक हिसाबले लुम्बिनीसहित बुद्ध सर्किट क्षेत्रका सम्पदा अभूतपूर्व रहेकाले प्रचारप्रसार जरुरी रहेको बताउनुभयो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले सबैको साथ र सहयोगले लुम्बिनी भ्रमण वर्ष सफल बनाउन प्रयासरत रहेको उल्लेख गर्नुभयो । मन्त्रालयका सचिव धनञ्जय पौडेलले भ्रमण वर्ष सफल बनाउन प्रचारप्रसारलाई तीव्रता दिएको बताउनुभयो । कार्यक्रममा सहभागीले प्रदेशका पुरातात्विक र सांस्कृतिक गन्तव्यको सूची तयार गरी लुम्बिनीसँग जोडेर प्रचार गर्न जरुरी रहेको धारणा राखे । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले भ्रमण वर्ष अवधिभर पर्यटकलाई होटलमा विशेष छुट दिनुपर्ने बताउनुभयो । प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीले लुम्बिनीको पर्यटन विकासका लागि घरवास सञ्चालनमा ल्याउन सरकारलाई सुझाव दिनुभयो । होटल व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले भ्रमण वर्षको प्रचारप्रसारका लागि विभिन्न स्थानमा सूचनामूलक बोर्ड राख्ने र प्रचारात्मक सामग्री तयार पारेर वितरण गर्नुपर्ने धारणा राख्नुभयो । भ्रमण वर्षकै तयारी सम्बन्धमा आज प्रचारप्रसार उपसमितिको बैठक सम्पन्न भएको छ । समितिका संयोजक भरत केसीको अध्यक्षतामा बसेको बैठकले भ्रमण वर्ष सफल बनाउन वर्षभरि प्रचारप्रसारका कार्यक्रम गर्ने निर्णय गरेको छ । प्रदेशका सांस्कृतिक र पुरातात्विक क्षेत्रको पहिचान गरी लुम्बिनीसँग जोडेर विभिन्न कार्यक्रम गर्ने निर्णय भएको संयोजक केसीले जानकारी दिनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video