शिक्षा /स्वास्थ्य
Feb 29, 2020
डुङ्गाको आश र त्रासमा पलाएको भविश्य
–हेमन्त केसी
जाजरकोट, फागुन १७
सल्यानको वनगाड कुपिण्डे नगरपालिका– १ नाम्रा र सुर्खेतको सिम्ता गाउँपालिकाको कालीखोलास्थित भेरी नदीमा पुल नहुँदा वर्षांैदेखि समस्या हुँदै आएको छ । दैनिक विद्यार्थीदेखि अभिभावकसम्म भेरी नदी डुङ्गाको भरमा वारपार गर्दै आएका छन् । यहाँ बस्ती बसेदेखि अहिले अझै कति वर्षसम्म डुङ्गाको सहारा लिएर नदी पार गर्नुपर्ने हो ? कसैलाई थाहा नभएको स्थानीयवासी बताउँछन् । अभिभावकभन्दा बढी पीडा विद्यालय उमेरका बालबालिकालाई दैनिक पर्दै आएको छ । उनीहरु भेरी नदी वारपार गर्दा होस् नै गुम्ने गरेको बताउँछन् । पाँच वर्षकै उमेरमा आमा, बाबाले विद्यालयमा भर्ना गरिदिएपछि भेरी नदी पार गर्दै दैनिक विद्यालय जानु अर्जुन पोखरेलका लागि त्यति सहज थिएन । राम्रो, नराम्रो छुट्याउन नसक्ने उमेरमा भेरी नदी छालसँगै पौठेजोडी खेल्दै दैनिक डुङ्गा चढेर दुई घण्टा टाढा रहेको लङ्गृणा रिवर विद्यालयमा जानु उहाँका लागि फलामको चिउरा चपाए झैँ हँुदै आएको छ । अभिभावकको सल्लाह, दबाब र मायाका कारण भेरी नदीको उरर्लिदो भेललाई जित्दै डुङ्गाको सहारामा दैनिक आउने र जाने भइरहन्छ अर्का कक्षा ७ मा पढ्ने सगुन आचार्यले भन्नुभयो । उहाँ जस्तै अर्का कक्षा ४ मा पढ्ने सुगम शर्माको पीडा पनि कम्ती छैन । भेरी नदीको डर मान्दा पढाइ छुट्ने, नमान्ने हो भने दैनिक डरले मुटुको धड्कन बढ्दै डुङ्गाको यात्रा गरी विद्यालय जानुपर्ने अर्को बाध्यता रहेको उहाँले बताउनुभयो । डुङ्गा चलाउँदै आएका विष्णु ओलीको भेरी नदीसँग मित्रता गाँसिएको सात वर्ष भइसकेको छ । उहाँले लामो समयसम्म यो काम गर्दा धेरै तितामीठा घटना व्यहोरीसकेको बताउनुभयो । ओलीका अनुसार अहिलेसम्म खासै केही भएको छैन । सल्यान नाम्रा गाउँ र सुर्खेत कालीखोलाका स्थानीयवासीको सम्बन्ध जोड्ने नै यही डुङ्गा भएको ओलीले बताउनुभयो । विवाह गरेर आउने नयाँ जोडीदेखि दुःखमा परेका अनि दैनिक कामसम्म गर्ने सबैको सहारा बन्दै आएको डुङ्गा कति दिन चल्छ उहाँलाई थाहा छैन । उहाँको प्रार्थना छ, “मैले चलाउँदासम्म कसैलाई केही नहोस् ।” नाम्रा गाउँबाट दुई घण्टा पैदल हिँडेपछि भेरी नदीको झुलुङ्गे पुल भेटिन्छ काली खोलाका हस्तबहादुर लुहारले भन्नुभयो, “गाउँबाट टाढा रहेको पुलसम्म पुग्न र आउन मात्र चार घण्टा खर्चनु, यो हाम्रा लागि धेरै समय वर्वाद गर्नु हो ।” वर्षांैदेखि यहाँका स्थानीयवासीले पुलका लागि अनुरोध गर्दा मागको सुनुवाइ नभएको बताउँदै आएका छन् । सरकारले तुइन हटाउने लक्ष्य लिएपछि यहाँका स्थानीयवासी हाम्रो ठाउँमा पनि पुल निर्माण हुने भो भन्दै खुशी भएको बताए पनि अहिलेसम्म पुल निर्माण नहँुदा निरास हुँदै आएको बताएका छन् । नाम्रा गाउँदेखि आसपासमा अन्य गाउँका स्थानीयवासी राकम, सल्लीबजार आउन दैनिक यही भेरी नदी तर्नुपर्दछ । सुर्खेत कालीखोलाका स्थानीयवासी सोही नदी तरेर सल्यान जानुपर्ने बाध्यता रहँदै आएको छ । हिउँदयाममा मात्र चल्ने डुङ्गा वर्षायाममा पूरै बन्द हुने गर्दछ । वर्षायाममा भेरी नदीमा पानीको मात्रा अत्यधिक बढ्ने भएकाले डुङ्गा बन्द हुने गर्दछ । डुङ्गा बन्द हुँदा यहाँका स्थानीयवासी तथा विद्यार्थी समस्या हुँदै आएको छ । विद्यार्थी घर आउन नपाउने भएकाले बाहिर नै डेरा खोजेर बस्ने गर्दछन् । विद्यार्थी महिनामा दुईपटक घरमा लामो बाटो प्रयोग गरेर आफन्तसँग भेटघाट गर्ने गरेको बताउँछन् । आँखाले हेर्दा नजिकै देखिने ठाउँ पनि नदीले टाढा बनाइदिएको स्थानीयवासी बताउँछन् । नाम्रा हुँदै सल्लीबजारसम्म बाटो बनाएपनि सो बाटोमा यातायातका साधन नचल्दा सास्ती हँुदै आएको हो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video