राजनीति
Apr 02, 2019
लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको स्रोतले पुग्दैनः अर्थमन्त्री
रुपन्देही, चैत १९ अर्थमन्त्री डा युवराज खतिवडाले लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको साधन स्रोतबाट मात्र सम्भव नहुने बताउनुभएको छ । उहाँले त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन लुम्बिनी विकास कोष र सरकारको तर्फबाट पहल गरिने बताउनुभयो । आज लुम्बिनीमा रासससँग कुरा गर्दै मन्त्री डा खतिवडाले तीन वर्षभित्र गुरुयोजना पूरा गर्ने लुम्बिनी विकास कोषको लक्ष्यलाई सरकारले सहयोग गर्ने बताउनुभयो । यद्यपि गुरुयोजना पूरा गर्ने सबै खर्च सरकारले कोषलाई तीन वर्षभित्रै उपलब्ध गराउन नसक्ने उहाँले प्रष्ट पार्नुभयो । “विश्वको ध्यान लुम्बिनीतर्फ आकर्षिक गर्न यहाँ विश्व समुदायकै सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो । संविधानले व्यवस्था गरेअनुसार मौलिक हक कार्यान्वयनमै राज्यको ठूलो रकम खर्च हुने भएकाले पहिलो प्राथमिकता त्यसलाई दिइने मन्त्री खतिवडाको भनाइ थियो । मन्त्री डा खतिवडाले बारा र पर्सामा भएको हावाहुरीको घटनामा सङ्घीय सरकारको मापदण्डभन्दा पनि माथि गएर प्रदेश सरकारकाले राहत दिने घोषणा गरेकाले सङ्घीय सरकारको तर्फबाट राहतका लागि कुनै निर्णय गर्न जरुरी नदेखिएको बताउनुभयो । उहाँले घाइतेको निःशुल्क उपचार र भत्किएका संरचनाको पुनःनिर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यसअघि लुम्बिनी विकास कोषका पदाधिकारीसँगको छलफलमा मन्त्री खतिवडाले स्रोतको सीमाभित्र रहेर योजना बनाउन र विवादरहित ढङ्गले सक्रियतापूर्वक काम गर्न कोषलाई आग्रह गर्नुभयो । सो अवसरमा कोषका पदाधिकारीले लुम्बिनी गुरुयोजना पूरा गर्न भइरहेका प्रयास र समस्याका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्य र सदस्य सचिव सरोज भट्टराइले अर्थमन्त्री खतिवडालाई स्वागत गर्नुभएको थियो । मन्त्री खतिवडाले लुम्बिनीको मायादेवी मन्दिर, केन्द्रीय नहर, सङ्ग्रहालय र निर्माणाधीन ध्यान केन्द्रको अवलोकन गर्नुभएको थियो । बौद्धधर्म र दर्शनलाई आत्मसात् गरेर अघि बढ्न सुझाव अर्थमन्त्री डा खतिवडाले बौद्धधर्म र दर्शनलाई आत्मसात् गरेर अगाडि बढ्न बौद्ध विश्वविद्यालयलाई सुझाव दिनुभएको छ । विश्वविद्यालयले आज लुम्बिनीमा आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले बौद्ध दर्शनको मूल मर्मलाई ओझेलमा नपार्ने गरी गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो । “कतिपय विश्वविद्यालयमा विवादका कारण शैक्षिक गुणस्तर खस्किएको छ”, उहाँले भन्नुभयो, “विश्वविद्यालयले विवादरहित ढङ्गले काम गर्नुपर्छ ।” कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्यले एउटै विधामा केन्द्रित हुँदा जनस्तरका आकांक्षा समेट्न गाह्रो भएको बताउनुभयो । उहाँले विश्वविद्यालयका शैक्षिक क्रियाकलाप र वर्तमान अवस्थाबारे अर्थमन्त्री डा खतिवडालाई जानकारी गराउनुभयो । विश्वविद्यालयमा हाल ७४१ विद्यार्थी अध्ययनरत छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video